पूर्वी पहाडी जिल्लामा वर्षासँगै हिमपात


 


तेह्रथुम, पुस १३

वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । आज मध्याह्नबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका हुन् ।

यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलोपटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ । तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा योभन्दा ढिलोमात्रै हिमपात हुने गरेको थियो ।

पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका वसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । चौकीदेखिमाथिको क्षेत्रमा आज दिउँसो दुई फिटसम्म हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताउनुभयो ।

दिउँसोदेखि उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखिसमेत सयौंको संख्यामा व्यक्तिहरु पुगेका छन् ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्