चराहरुको स्वर्ग बन्दै मेचीनगर


 


भद्रपुर, पुस १२

झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताउनुभयो ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उहाँको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उहाँले बताउनुभयो । चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ ।

मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलले बताउनुभयो ।

मेचीनगर–६ काँकडभिट्टस्थित ‘इस्टपोइन्ट फोटो एण्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहनुभएका उहाँले विगत तीन वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने कार्य गर्दै आउनुभएको छ ।

“मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रुपमा विकसित गर्न सकिने सम्भावना छ”, खरेलले भन्नुभयो, “चरा प्रकृतिका अमूल्य उपहार हुन् यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ ।” चिसो मौसममा बिहान ७ बजेदेखि ९ बजेसम्म र गर्मी मौसममा ६ बजेदेखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ ।

आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच बनाउनुभएका उहाँले सवा लाखको क्यामेरामा डेढ लाखको लेन्स प्रयोग गरी चराको फोटो सङ्कलन गरिरहनुभएकोे छ ।

घुमुवा ९उडिसा० जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले जोड दिनुभयो । मेचीनगर क्षेत्रमा आठसामुदायिक वन रहेका हुँदा विभिन्न प्रजातिका चरा पाइने गरेको जानकारी दिँदै सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष बेदप्रसाद भण्डारीले खरेलजस्ता चराको अध्ययन र अनुसन्धानमा रहेको व्यक्तिलाई सहयोग गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्