धर्म निरपेक्षता गणतन्त्र नेपालको प्रमुख आधार : प्रधानमन्त्री


 


काठमाडौं, पुस १०

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा स्मरण गराउनु भएको छ ।

“सनातनकाल देखि वहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले क्रिसमस डे का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइमा सुख,समृद्धि र सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्