चिकित्सा शिक्षा विधेयकका विषयमा केसीसँग छलफल गर्ने


 


काठमाण्डौँ, पुस ९

संसदको शिक्षा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकका विषयमा फेरि डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । विधेयकमा रहेका केही व्यवस्थामाथि थप स्पष्टता आवश्यक रहेकाले केसीसँग छलफल गर्न लागेको हो ।

आजको बैठकपछि समिति सदस्य कांग्रेस सांसद गगन थापाले विधेयकका केही प्रावधानमाथि डा. केसीसँग छलफल गर्नुपर्ने देखिएकाले समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताउनुभयो ।

‘चिकित्सा शिक्षा विधेयकको केही प्रावधानका विषयमा डा. केसीसँग छलफल गर्नुपवर्ने अवस्था आयो । आज मूल समितिमा औपचारिक प्रतिवेदनमाथि छलफल हुन सकेन । एक दुई दिनमा केसीपक्षसँग कुरा गर्ने र यो विधेयकलाई अगाडि बढाउने छलफल भएको छ ।’

समितिले काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने विषय र पाँच वर्षभित्र प्रमाणपत्र तह अन्तर्गतको चिकित्सा शिक्षासँग सम्बन्धित कार्यक्रम फेजआउट गर्दै जाने भन्ने विषयमा डा. केसीसँग छलफल गर्न खोजेको हो ।

समिति सदस्य सांसद योगेश भट्टराईले डा. केसीसँग सरकारले गरेको सम्झौताअनुसार विधेयक अघि बढाउँदा १० वर्षसम्म मेडिकल कलेज नै नखुल्ने देखिएकाले यस विषयमा उहाँसँग छलफल गर्नुपर्ने देखिएको बताउनुभयो ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्