मुख्यमन्त्री राई भन्छन् – राष्ट्रिय परिचयपत्रले नागरिकको थप पहिचान र परिचय खुल्नेछ


 


विराटनगर, ८ पुस
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत गर्ने प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल प्रदान गर्ने बताउनुभयो ।

प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै उहाँले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिनुभयो ।

डिजिटल प्रदेश निर्माण गर्ने सरकारी योजनामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमले सहयोग पुर्‍याउने उहाँको भनाई थियो। परिचयपत्र वितरणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो।

नेपाल सरकारले आव २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप आव २०७४÷७५ मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । चालू आवमा प्रदेश नं १ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ र सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्