काँग्रेस महासमिति बैठक आज सकिँदै


 


काठमाडौं, पुस ८

नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । संघीय संरचना अनुसारको विधान मस्यौदा हिजो बैठकमा पेस भएको थियो ।

विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रस्ताव प्रस्तुत भएसँगै महासमिति सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ ।

महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले आज पारित गर्ने तयारी छ । मंसिर २९ मा उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ ।

कांग्रेसको विधान संशोधनका विषयमा महासमिति बैठकमा सदस्यहरूबाट धेरै विषय उठाइए पनि ती विषयमा बैठकमा गम्भीर छलफल नहुने भएको छ । केन्द्रीय कार्यसमितिले पारित गरे अनुसार नै महासमिति बैठकबाट आज पारित गर्ने तयारी छ । बैठकको आठौँ दिनमा मात्रै पार्टीको विधान मस्यौदा प्रस्तुत भएकाले अन्य विषयमाथि छलफल नभ्याइने भएको हो ।

सामान्य छलफल गराएर आज बिहान बैठक सम्पन्न गर्ने तयारीमा नेताहरू पुगेका हुन् । ढिलो गरी विधान मस्यौदा बैठकमा पेस भएको र सामान्य छलफलबाट पारित गर्ने तयारीमा नेताहरु पुगेपछि ५० प्रतिशतभन्दा बढी महासमिति सदस्यहरु घर फर्किसकेका छन् ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्