पूर्व प्रधानमन्त्री भट्टराईको ९५ औं जन्मजयन्ती मनाइँदै


 


काठमाडौं, पुस ८

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आज मनाइँदै छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित हुनुहुन्थ्यो ।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उहाँ पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बस्नुभएको थियो । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सम्पत्तिको होडमा रहेको अहिलेको दुनियाँमा भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिनुभएको थियो । सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो ।

उहाँले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधन २०६७ साल फागुन २० गते भएको थियो ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्