दाङ बस दुर्घटना : मृतकको संख्या २२ पुग्यो


 


दाङ, पुस ७

हिजो बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको छ ।

बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जी एम रहेका छन् ।

ज्यान गुमाउने र घाइते भएका सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरु सल्यानको मूलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना भएको हो ।

प्रकाशित मिति: ७ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्