नेपाललाई यसरी चै नबनाऊ
हाइटीका नागरिकको नेपाललाई सुझाव
निक्सोन बुम्बा
गत बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि संसारभरका मानिसझैं मैले पनि जिवित उद्दार गरिएकाहरुको धुलाम्य अनुहार, रगताम्य शव र क्षतिग्रस्त ऐतिहासिक भवनको तस्विहरु हेरें । यसले मलाई ५ बर्ष अघि मैरो देशमा गएको भूकम्पको सम्झना गरायो र अब नेपालमा के होला भन्ने चिन्ताले सोच्न बाध्य बनायाे । अब चाँडै नेपालका मानिसहरुले अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा पुननिर्माणको प्रक्रिया सुरु गर्नेछन् । उनीहरुले पनि हाम्रो देश हाइटीमा भोगिएका जस्तै समान चुनौतिहरु सामना गर्नेछन् । र, मलाई आशा छ उनीहरुले हाइटीका जनता र हाम्रो देशमा सहयोगका लागि नियोजितरुपमा आएका दातृ निकायले गरेजस्तो गल्ती दोहोर्याउने छैनन् । हाइटीमा दुई विपद आइलागेको थियो । एउटा भूकम्प र अर्को त्यसले निम्त्याएको मानवीय संकट । १० बिलियन डलरभन्दा बढी बढी विदेशी सहयताले अझैं हाम्रो देशलाई त्यो विपदबाट पार लगाउन सकेको छैन् । नेपालले हाम्रो अनुभवबाट सिक्न सकोस् भनेर यहाँ ५ सिकाईहरु उल्लेख छ ।
१) स्थानीय जनताको कुरा सुन
हाइटीमा आएका अधिकांश वैदेशिक सहायता प्राजेक्टले समुदायकको सहभागिता गर्ने प्रतिबद्धता जनाएका थिए तर अहिलेसम्म अधिकांश प्राजेक्ट स्थानीय जनता सहभागी गर्न असफल छन् । पीडितको लागि उपलब्ध गराइएको घर पनि एउटा प्रष्ट उदाहरण बन्न सक्छ । सहायता गर्नेहरुले त्रिपालमुनी बसिरहेकाहरुलाई अल्पकालिन बासको प्रबन्ध गर्नमा ध्यान दिए । उनीहरुले हाइटीका जनताको असहमतिलाई बुझेनन् जो चुहिने र भत्किने सम्भावना भएको कमजोर प्लाइउडको संरचना दीर्घकालिन घर हुनसक्ने भन्दै भयभित थिए । सहायता गर्नेहरुले ५०० मिलियन डलर भन्दा बढी रकम यस्ता खाले अल्पकालिन बासको प्रबन्ध गर्नमा खर्चिए तर ९ हजार भन्दा पनि कम दीर्घकालिन घरहरु बने । दुखद रुपमा हिजो बनाइएका अल्पकालिन घरहरु आजको दीर्घकालिन सुकुम्बासी वस्ती भएको छ ।
२. स्थानीय जनतालाई पैसा देऊ
हाइटीका चिकित्सक र नर्सहरु प्राप्य हुँदा हुँदै पनि धेरै दातृ निकायले कम तालिमप्राप्त स्वयमसेवक, विदेशी चिकित्सक र नर्सहरु उल्लेख्य संख्यामा पठाए । हाइटीको भूकम्पपछिको सहायताको लागि दिइएको प्रत्येक डलरमध्ये एक पैसा भन्दा कम मात्रै हाइटीका संस्थाले पाए । यदि त्यो पैसा स्थानीय संस्था वा व्यक्तिलाई दिइएको भए त्यसले धेरै काम गर्ने थियो । धेरै समुदायले विस्थापित भएको ६ लाख बढी मानिसलाई घरको लागि र अन्य कुरामा सहयोग गरेको मैले देखेको छु । यस्ता समुदायले विस्थापित भएकाहरुलाई रोजगार बन्न कृषिजन्य काम गर्ने तालिम दिएका थिए ।
३. बढी प्रभावित क्षेत्रमा पुग
विपदपछि जो गरिब वा दबिएका झन् वा जो राहत वितरण केन्द्र भन्दा टाढा बस्छन् उनीहरु झन् बढी पीडित हुने गर्छन् । हाइटीमा पनि टाढा टाढा रहेको गाउँका पीडितहरुले भूकम्प गएको हप्तौसम्म पनि पानी र खाना पाएनन् । समलिंगीलगायत दबिएका अल्पसंख्यकहरु मुख्यतय विस्थापित क्याम्पमा विभेद र हिंसाको जोखिममा थिए र दातृ निकायले पनि वेवास्ता गरेका थिए ।
४. भविष्यमा आउने ठूलो विपदबाट बच्न अहिले नै पूर्वाधारमा लगानी
भूकम्पपछि धेरैजसो सहायता दीर्घकालिन व्यवस्थापन भन्दा तत्कालका लागि केन्द्रित थिए । बिशेषगरी पूर्वाधारले भविष्यमा हुने मानवीय संकटलाई रोक्नुपर्छ । मेरो देशले अहिले पनि इतिहासकै सबैभन्दा ठूलो हैजा नियन्त्रणको लागि संघर्ष गरिरहेको छ । यो रोग सन् २०१० पछि संयुक्त राष्ट्रसंघको शान्ति सेनामार्फत फैलिएको आशंका गरिएको छ तर त्यहाँ अहिले पनि संकट रोकिएको छैन् । यो महामारी लगातार फैलियो किनकी भूकम्पपछि राहतमा आएको रकमलाई सरसफाईको लागि लगाइएन ।
५. सहायता समन्वय, प्रभावकारी र पारदर्शी हुनुपर्छ
सहायताको समन्वय सबैभन्दा बढी हुनुपर्ने देखिन्थ्यो तर हाइटीमा त्यस्तो भएन । धेरै दातृ निकायले ठूल्ठूला सहायता प्राजेक्टेको घोषणा गरे जसको कारण फजुल खर्च बढी भयो । उत्तरदायित्वको कमीका कारण आफूलाई आएको सहायता कसरी खर्च भइरहेको छ भन्ने जनताले थाहा पाएनन् ।
आगामी दिनमा, नेपालका जनतालाई आधारभूत चिज जस्तै खाना, सफा पानी र ओढ्नेको आवश्यकता पर्छ । पछि, उनीहरुलाई भत्किएको संरचना पुननिर्माण र भविष्यमा आउने विपदको लागि तयारी गर्नुपर्ने हुन्छ । आवश्यकताको आधारमा सरकार र दातृ निकायले कसरी सहायता प्रदान गर्ने निक्र्यौल गर्नुपर्छ । अहिले अन्तर्राष्ट्रिय समुदायले गर्ने निर्णयले नेपालको भविष्य गुञ्जिन्छ । मलाई आशा छ, यो हाइटीले भर्खरै भोगेको अनुभव जस्तो हुने छैन् ।
(वासिंटन पोष्टबाट साभार)
प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार