उत्तरपूर्वी मोरङका स्थानीय तह क्यान्सर रोगको सचेतना अभियानमा


 


मोरङ, पुस ४

उत्तरपूर्वी मोरङका ६ वटा पालिकाहरुको समन्वयमा क्यान्सर रोग हुनबाट जोगाउन जनचेतना सहित क्यान्सरको उपचारमा सक्रियता बढाउने अभियान अघि बढेको छ ।

समुदाय, सरकार र नीजि क्षेत्रको सहकार्यमा नगरपालिकाहरुमा उर्लावारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई तथा गाउँपालिकाहरुमा मिक्लाजुङ र कानेपोखरीले क्यान्सर सूचना केन्द्र सञ्चालक समिति गठन गरी अभियान अघि बढाएका हुन् ।

क्यान्सर उपचारका लागि शुलभ र प्रभावकारी सेवा उपलब्ध गराउने योजना अनुरुप उर्लावारीको अरनिको अस्पतालको समन्वयमा समिति निर्माण भई संयुक्त कार्ययोजना बनाउने क्रम अघि बढेको छ ।

सो अस्पतालका सञ्चालक चिरञ्जिवी चुडाल संयोजक रहेको ६ वटा पालिकाका जनप्रतिनिधिहरु समेतको ९ सदस्यीय समिति निर्माण गरी कार्ययोजना वनाउने क्रम अघि बढेको हो ।

समितिको पथरीशनिश्चरे नगरपालिकामा आज भएको वैठकमा जिल्ला स्वास्थ्य समन्वय समितिका प्रमुख ज्ञानबहादुर वस्नेत, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई सहितले क्यान्सर रोग नियन्त्रणका लागि सवैसंग सहकार्य वढाएर जाने कुरा वताउनु भयो ।

ती पालिकाहरुका वडा वडाबाट क्यान्सर पिडीतहरुको तथ्यांक संकलन गरी उनीहरुको उपचारमा जोड दिने कार्य अघि बढाउने समेत वैठकमा निर्णय भएको समिति संयोजक चुडालले जनाउनु भयो ।

प्रत्येक पालिकाहरुबाट १,१ जना स्वास्थ्यकर्मीलाई क्यान्सर हुनबाट जोगिने जनचेतनाका लागि तालिम दिएर वडा वडामा पठाउने समितिको वैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्