उर्लाबारीका मृगौला रोगी भण्डारीलाई आर्थिक सहयोग


 


उर्लाबारी, पुस ३

मृगौला रोगी मोरङको उर्लाबारी नगरपालिका–७ का ४७ बर्षीय मानबहादुर भण्डारीलाई आर्थिक सहयोग जुटिरहेको छ ।  उर्लाबारी–८ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज पीडित भण्डारीको उपचारका लागि १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सोही विद्यालयमा अध्ययरत भण्डारीका छोरा किरोज भण्डारीलाई विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले शिक्षक तथा विद्यार्थीबाट संकलित सो रकम हस्तान्तरण गर्नुभएको हो । यसअघिे श्री कृष्ण भजन किर्तन मण्डली उर्लाबारीले १० हजार र मण्डलीका सदस्यहरुबाट ३८ हजार गरी जम्मा ४८ हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, उर्लाबारीकी ममता रानाको नेतृत्वमा देउसीभैलोबाट संकलित रकममध्येबाट १० हजार सहयोग गरिएको थियो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा भण्डारीको दुबै मृगौलाले काम नगरेको र मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरले सुझाब दिएपछि दुई छाक टार्न धौधौ हुने भण्डारीको परिवार यतिबेला सहयोगीदाताको खोजीमा रहेको छ ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्