झापाका कुखुरापालक किसान आन्दोलित
झापा, पुस २
सरकारले आफुहरुको माग पूरा नगरेको भन्दै झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । विचौलियाका कारण किसान घाटामा गएको र लागतको मूल्य नपाउँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै कुखुरापालक किसानले आन्दोलन सुरु गरेका हुन् ।
लागतअनुसारको मूल्य निर्धारण गरिनुपर्ने, विचौलियाको अन्त्य हुनुपर्ने आफुहरुको मागमा सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल कुखुरापालक किसान संघ बिर्तामोडका अध्यक्ष सौरभ प्रसाइले बताउनुभयो ।
गुणस्तरहीन दाना, औषधि एवं चल्ला बिक्री वितरणमा रोक लगाउनुपर्ने, विचौलियाको बिगबिगीलाई हटाउन नीति बनाइनुपर्ने, दाना, चल्ला, औषधिको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गरिनुपर्ने साथै भारतबाट आयातित मासु र चल्लालाई रोक लगाउनुपर्ने लगायतका माग संघले राखेको छ ।
किसानले अब खोरमा चल्ला नहाल्ने र उत्पादन पनि बन्द गर्ने घोषणा गरेका छन् । अहिले देशका ६४ जिल्लाका किसानले ब्रोइलर कुखुरापालन गरेका छन् ।
प्रकाशित मिति: २ पुस २०७५, सोमबार