मिक्लाजुङबासीका लागि खुशीको खबर ! मिक्लुक खोलामा पुल बन्ने पक्का


 


उर्लाबारी, मंसिर २६

मोरङको निर्वाचन क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा पुल निर्माण हुने निश्चित भएको छ । उर्लाबारी–१ र मिक्लाजुङ–६ लाई जोड्ने उक्त खोलामा लामो प्रतिक्षापछि पुल बन्ने निश्चित भएको हो ।

उर्लाबारीको किशान चौक हुँदै मिक्लाजुङको टाँडी–रमिते पहाडी मार्ग जोड्ने उक्त खोलामा पुल निर्माणका लागि प्रदेश नं. १ सरकारले चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू कुशलको पहलमा पुल निर्माणका लागि वजेट विनियोजना भएको हो । प्रदेश सरकारको रातो किताबमा समेत उक्त पुल परेपछि बर्षौदेखि पुल निर्माण हुने आशा देखिएका स्थानीयबासी हर्षित बनेको स्थानीय शंकर बजगाईले बताउनुभयो ।

मिक्लुक खोलामा पुल निर्माण नहुँदा बर्खाको समयमा जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य बनेका थिए । मंगलबार प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त खोलाको अनुगमन गरेका छन् । पुल निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने मन्त्री आङ्बोले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उर्लाबारी किशान चौक हुँदै रमितेखोला जोड्ने उक्त सडकको विकासका लागि पनि प्रदेश सरकार गम्भिर भएर लागि पर्ने उनले बताएका छन् । यस्तै, मिक्लाजुङ गाउँपालिका बृहत लावा खोला खानेपानी आयोजनाका लागि पनि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ छुट्टिएको छ । मंगलबार मन्त्री आङ्वोसहितको टोलीले खानेपानी योजनाको स्थलगत अनुगमन गरेको प्रदेश सांसद लिम्बूले जानकारी दिए ।

यस्तै, मोरङको मिक्लाजुङ र पाँचथर मिक्लाजुङ गाउँपालिका जोड्ने २४ सय फिट अग्लो डाँडाको अवलोकन गर्दै केवल कार सञ्चालनका लागि प्रदेश नं. १ सरकारले सम्भावित अध्ययन गर्ने मन्त्री आङ्बोले बताए । यस्तै, किराँतेश्वर हाङ्साङ् माङ्हिम टाँडी धोबेनीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, प्रदेश सांसद लिम्बूकै पहलमा उर्जा मन्त्रालयबाट विद्युतका लागि उर्लाबारी शाखातर्फ २ करोड ४० लाख र बेलबारी शाखातर्फ ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश नं. १ का सांसद लिम्बूले आफ्नो क्षेत्रका योजनालाई प्रदेश सरकारको मुख्य योजनामा पार्न सफल हुँदै वजेटसमेत छुट्याउन सफल बनेका छन् ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्