सञ्चार क्लबको तालिम उद्घाटनमा मेयर फागोले के भने ?


 


उर्लाबारी, मंसिर १९

मोरङको उर्लाबारीमा आजदेखी ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग एबं सञ्चार क्लब नेपालको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर फागोले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि प्रमुख फागोले जनाउनुभयो ।

कार्यक्रममा समाजसेबी जयधर्म आचार्य, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, प्रेस युनियन मोरङका अधयक्ष भोजराज बस्नेत लगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन पूर्वअध्यक्ष घनश्याम भण्डारीले गर्नुभएको थियो ।

मंसिर २५ गतेसम्म सञ्चालन हुने उक्त तालिममा लेखक/पत्रकार लिलाराज खतिवडाले सहजीकरण गरिरहनु भएको छ । पत्रकारिता क्षेत्रका बारेमा स्थानीय आधा दर्जन बढी अग्रज पत्रकारहरुले उक्त तालिमको सहजीकारणमा सहयोग गर्नु हुनेछ । तालिममा पूर्वी मोरङको उर्लाबारी, रतुवामाई, मिक्लाजुङ र पथरीशनिश्चरेका २५ जनाको सहभागिता रहेको छ ।

ग्रामिण क्षेत्रको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्ने उद्देश्यले २०६० सालमा स्थापना भएको उक्त क्लबमा पूर्वी मोरङका ४६ जना सक्रिय पत्रकारहरु आबद्ध रहेका छन् । यसैबीच सञ्चार क्लब नेपालको आज विहान बसेको कार्यसमितिको बैठकले आगामी पौष ७ गते बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

उर्लाबारी क्षेत्रको पर्यटकीय स्थलमा बार्षिक साधारणसभा गर्ने निर्णय भएको उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । यस्तै, लिला–गोमा आचार्य र दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार छनौट समिति गठन भएको छ । संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाको संयोजकत्वमा दाताको तर्फबाट जयधर्म आचार्य र क्लबको तर्फबाट अध्यक्ष सरोज बस्नेत रहेको ३ सदस्यीय पुरस्कार छनौट समिति गठन भएको हो । त्यस्तै, कार्यसमिति र सल्लाहकारबीच मंसिर २९ गते संयुक्त बैठक गरी बार्षिक समिक्षा कार्यक्रम गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्