मोरङका यज्ञबहादुर जिब्रोले निधार छुँदा संसारभरी भाइरल भए


 


मोरङ, मंसिर १९

मोरङको उर्लाबारी घर भएका ३५ वर्षीय यज्ञबहादुर कटुवाल आफ्नो जीब्रोले निधार छुने अनौठो क्षमताका कारण अहिले विश्वभरीका सामाजिक सञ्जालमा भाइरल भएका छन् । सामान्यतया मानिसलाई आफ्नो नाक जिब्रोले छुन पनि गाह्रो हुने गरेकोमा उर्लाबारीका यी कटुवालले भने सीधै निधारसम्म आफ्नो जिब्रो पुर्याउने गरेका छन् ।

बेलायतको मेट्रो युकेले भिडियो सहित दिएको समाचारमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गर्न चाहेका छन् ।स्थानीय विद्यालयमा ड्राइभरका रुपमा काम गरिरहेका उनले आफूले जिब्रोले निधार छुँदा केटाकेटीहरु भने डराउने गरेको समेत बताएका छन् ।

उनका साथीहरुले सामाजिक सञ्जालमा फोटो राखिदिएपछि उनको अहिले संसारभरी चर्चा भएको हो । भिडियोमा उनको ओठले नाक छोप्ने र जिब्रोले निधार छोएको देखिन्छ । कटवालले आफू विश्वकै लामो जिब्रो भएको व्यक्ति भएको दाबी गरेका छन् ।

उनको जिब्रोको लम्बाईको तुलनात्मक नाप जाँच भने अझै भएको छैन । उनले आफूले बुलेट बाइकको आवाजपनि निकाल्ने गरेको भन्दै भिडियोमा पनि आवाज निकालेका छन् ।

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्