सुविधाभोगी बन्दै जनप्रतिनिधि


 


विराटनगर, १९ मंसिर
सर्वसाधारणको टाउकामा करको बोझ थपेर स्थानीय तहका जनप्रतिनिधि धमाधम आफ्ना लागि विलासिताका सवारी साधन किन्दैछन् । जनप्रतिनिधि सवार गराउन लाखौं रुपैयाँ खर्चेर नयाँ सवारी साधन किनिरहेका स्थानीय तहको ध्यान सर्वसाधारणलाई अत्यावश्यक हुने एम्बुलेन्स, वारुणयन्त्र, शववाहनजस्ता सवारी व्यवस्थापनतिर चाहिँ पटक्कै गएको छैन ।

जनप्रतिनिधिको विलासितामा करोडौं रुपैयाँ खर्च भइरहेपनि दुर्घटना हुँदा, सर्वसाधारण बिरामी पर्दा, आगलागी हुँदा र प्राकृतिक विपत्तिलगायतमा उद्धार गर्ने सवारी चाहिँ नगन्य छन् । केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष नै नयाँ सवारी साधन किनेर जनप्रतिनिधिलाई चढाएका थिए । धेरैले चाहिँ अहिले किन्दैछन् ।

एउटा सवारी साधन किन्न एउटै स्थानीय तहले ३० देखि ६० लाख रुपैयाँसम्म खर्च गर्दैछन् । केही स्थानीय तह जनप्रतिनिधि र कर्मचारीका लागि मोटरसाइकल किन्ने तयारीमा छन् । स्थानीय तह गठन भएपछि आफूहरूलाई हरेक क्षेत्रमा करको भार थपेको गुनासो सर्वसाधारणले गरिरहेका बेला जनप्रतिनिधि चाहिँ आफ्नै सेवा–सुविधा र विलासितालाई प्राथमिकता दिइरहेका हुन् ।

जनतालाई सुविधा दिने वाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनु पर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुषारापात भएको छ ।

प्रदेश नम्बर १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर विरामीलाई अस्पताल भर्ना गर्न कि सदरमुकाम कि तराई लैजाने बाध्यता छ । बिडम्बना यस्ता दर्जनौं स्थानीय तह छन्, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्स कतै छैन तर वर्ष दिनअघि चुनिएका जनप्रतिनिधिका लागि भने एक से एक महँगा गाडी किनिएका छन् । जनताको कर उनीहरुकै हितमा खर्चिने प्रतिबद्धता जनाएर चुनिएका प्रतिनिधिले सुरुमै जनताभन्दा आफ्नो सुविधालाई केन्द्रमा राखेका छन् ।

झापाको गौरादह नगरपालिकाले भर्खरै नयाँ गाडी खरिद गरेको छ । नगरपालिका घोषणा हुनसाथ आएको गाडी हुँदाहँुदै गौरादहले अर्को सवारी खरिद गरेको हो । नगरपालिकाले ५४ लाखमा स्कार्पीयो ४ एक्स गाडी खरिद गरेको हो । नगरपालिकाका प्रमुख रोहितकुमार साहले आवश्यकता परेका कारणले थप अर्को सवारी खरिद गर्नुपरेको बताए । ‘एउटा मात्रै गाडी छ, त्यसमा कहिले अनुगमन जानु पर्छ कहिले कता’, साहले भने, ‘त्यही भएर अर्को सवारी थपेका हौँ ।’

कमल गाउँपालिकाले ४५ लाखको स्पर्कपीयो नै किनेको छ । दमक नगरपालिकाले कमल गाउँपालिकालाई सहयोग गर्नका लागि नगरमा रहेको एउटा सवारी साधन दिएको थियो । तर त्यो सवारीको अवस्था राम्रो नभएकाले अर्को खरिद गर्नुपरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । ‘गाउँपालिकाको भुगोल ठुलो छ, कहिले जिल्लामा जान पर्छ कहिले प्रदेशसम्म त्यसकारण पनि गाडी आवश्यक थियोे,’ उनले भनिन् । शिवसताक्षी नगरपालिकामा दमकल छैन । फोहोर व्यवस्थापन र नदी नियन्त्रण यो नगरको अहिलेको चुनौति हो । तर एउटा सवारी साधन हँुदाहँुदै अर्को गाडी नगरले खरिद गरेको छ । नगरले ७२ लाखको जापनीज टोयटा हायस गाडी भर्खरै खरिद गरेको हो ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका यस्तै प्रतिनिधि गाउँ हो, जहाँ गाउँमा एउटा पनि एम्बुलेन्स छैन तर गाउँका अध्यक्षका लागि ५७ लाख रुपैयाँ खर्चेर स्कार्पियो किनिएको छ । सदरमुकाम फुङलिङबाट तीन घण्टा पश्चिम पैदल दुरी पूरा गरेपछि पुगिने यो गाउँमा ५७ लाख खर्च गरेर सुविधायुक्त सवारी किने पनि त्यही गाडी पनि गाउँ पुग्ने बाटो छैन । अहिले यो गाडीले गाउँपालिकाको केन्द्र सान्थाक्राबाट दोेभानसम्म ओर्लिएका जनप्रतिनिधि र कर्मचारीलाई दोभानबाट सदरमुकामसम्म ल्याउने–लाने काम गर्छ र कहिले दोभान त कहिले फुङ्लिङ बजारमा गाडीको बास हुन्छ ।

इलामका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये २ नगरमा मात्रै १–१ वारुणयन्त्र छन् । बाँकीमा न वारुणयन्त्र छन्, न एम्बुलेन्स र शववाहन नै । जिल्लाको फाकफोकथुम गाउँपालिकाले केही दिनअघि जिप र एक्स्काभेटर किन्न ठेक्का सूचना जारी ग¥यो । ४० लाख रुपैयाँभन्दा बढीमा किन्न लागिएको जिप गाउँपालिकाका जनप्रतिनिधि चढ्नलाई हो । तर, यो गाउँपालिकामा न आगलागीमा चाहिने अत्यावश्यक वारुणयन्त्र छ, न बिरामी हुँदा चाहिने एम्बुलेन्स नै । ‘दमकल र एम्बुलेन्स किन्ने गाउँपालिकाको योजना नै छैन,’ प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी भन्छन्, ‘अहिले जनप्रतिनिधिका लागि एउटा जिप र एउटा जेसिबी किन्ने योजना हो ।’ यो गाउँपालिकाले जनप्रतिनिधिका लागि लिएको एउटै गाडीको मासिक १ लाख १० हजार रुपैयाँसम्म भाडा छ । यो गाडी गाउँपालिकाका अध्यक्षले प्रयोग गरिरहेका छन् । र, गाउँपालिका वा गाउँसभाको बैठक, कार्यक्रमहरूमा जनप्रतिनिधि ओसार्न यही गाडी प्रयोग गरिन्छ ।

इलाम नगरपालिकाले उपमेयरका लागि भर्खरै करिब ३८ लाख रुपैयाँ खर्चेर नयाँ गाडी किन्यो । ‘मोटो’ रकम खर्चेर मर्मत गरेको पुरानो गाडी चढिरहेका मेयरका लागि पनि नगरले नयाँ गाडी किन्न ठेक्काप्रक्रिया सुरु गरिसकेको छ । ‘मेयरको अब किन्ने नयाँ गाडीलाई करिब ६० लाख रुपैयाँ पर्छ होला,’ नगरका एक कर्मचारी भन्छन्, ‘गाडी खरिद ठेक्काप्रक्रियामा छ, चाँडै खरिद गरिँदैछ ।’ यही नगरले केही दिनभित्रै १७ लाख रुपैयाँ खर्चेर ७ मोटरसाइकल किन्ने तयारी गरेको छ । मोटरसाइकल पनि जनप्रतिनिधि र कर्मचारीकै लागि हो ।

स्थानीय तह गठन हुँदा नागरिकले धेरैभन्दा धेरै विकास–निर्माण र समृद्धिको अपेक्षा गरेका थिए । तर, जनप्रतिनिधिले चाहिँ विकास–निर्माणभन्दा आफ्नो सेवा–सुविधा र विलासितामा ध्यान दिएको सर्वसाधारणको गुनासो छ । अत्यावश्यक सवारी साधन, सामग्री र विपद्बाट बच्ने पूर्वतयारीभन्दा जनप्रतिनिधिको सुविधालाई नै उनीहरूले प्राथमिकता दिएको देखिन्छ । ‘२० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा धेरै परिवर्तनको कल्पना गरेका थियौं,’ रोङ गाउँपालिकाका किसान सर्वजित राई भन्छन्, ‘तर, आफ्नो हातमा डाडु–पुन्यु परेपछि कसले सर्वसाधारणको समस्यातिर ध्यान दिने ?’

पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकामा विरामी हुँदा कि पिअकप कि बोकेर स्वास्थ्य केन्द्र लैजानु पर्ने बाध्यता छ । विरामीलाई स्वास्थ्य केन्द्र लैजानका लागि एम्बुलेन्सको प्रबन्ध गाउँपालिकाले गर्न सकेको छैन । तर ,यहाँका प्रमुख ३६ लाख ४५ हजार रुपैँयाको स्करपियो गाडी चढ्छन । छिमेकी हिलिहाङ गाँउपालिकामा पनि उस्तै छ । मेची राजमार्गले छोएका ठाँउबाहेकका गाँउमा एम्बुलेन्स जादैनन । तर यहाँका प्रमुख ५० लाख रुपैँयाको गाडी चढ्छन् ।

जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्षमा नै एम्बुलेन्स, दमकल भन्दा पनि आफू चढ्ने गाडी किन्ने हतारो गरेका छन् । प्रमुखहरुले चढ्ने महंगा गाडी र वडा अध्यक्षहरुलाई मोटरसाइकल दिइएको छ । निर्वाचित भएका पहिलो बर्षमा पाँचथरका आठ स्थानीय तहमध्ये ६ वटा तहका प्रमुखले चढ्ने गाडी किनेका छन् । फिदिम नगरपालिका, फालेलुङ, हिलिहाङ, तुमेवा, फाल्गुनन्द, याङवरक गाँउपालिकाले गाडी किनेका छन् । फिदिमले त एउटा गाडी हुँदाहुँदै अर्को नयाँ गाडी किनेको छ । ५९लाखमा नयाँ गाडी किनिएको प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए । फाल्गुनन्द गाउँपालिकामा ३४ लाखमा टाटाको गाडी किनिएकको छ । मोटरसाईकल आठ वटा रहेका छन् । यस्तै याङवरक गाँउपालिकाले ३५लाखमा गाडी किनेको छ । तुमेवा गाँउपालिकाले ३६ लाखको गाडी किनेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्