सप्तकोशी बिद्यालयमा भएको रक्तदानमा ८० पिन्ट रगत संकलन


 


उर्लाबारी, मंसिर १८

मोरङको उर्लाबारी – ४ मा अवस्थित सप्तकोशी आवासिय माध्यमिक बिद्यालयले रजत बर्षको अवसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोग तथा सप्तकोशी भूपू बिद्यार्थी समाजको समन्वयमा बिद्यालय परिसरमा भएको सो रक्तदान कार्यक्रममा बिद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा नागरिक समाजका प्रतिनिधीहरुले रक्तदान गरेको बिद्यालयका संस्थापक/प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

संस्थापक/प्रिन्सिपल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्र बैजयन्ती भट्टराईले बिद्यालय स्थापनाको अवसरमा रक्तदान तथा चित्रकला प्रतियोगिता गरेको बताउनु भएको थियो भने रेडक्रस उर्लाबारीका सभापति मदनबाबु प्रसाई, सञ्चार क्लबका अध्यक्ष सरोज बस्नेत, भूपू बिद्यार्थी मञ्चका प्रतिनिधी डा. फणीन्द्र भट्टराई लगायतका वक्ताहरुले बिद्यालय स्थापना भएको २५ बर्ष पुगेको अवसरमा गरेको सामाजिक कार्यको प्रशंशा गर्दै निरन्तरता दिन सुझाव दिनु भएको थियो ।

सोही अवसरमा बिद्यालयले उर्लाबारीका तीन सार्वजनिक स्थानमा बिद्यालयका बिद्यार्थी सहित झापा र मोरङका ५० जना चित्रकारहरुले कला सृजना गरी चित्र बनाएका थिए । वि.सं. २०५० सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा अग्रस्थानमा देखिएको छ । पूर्वी मोरङकै उत्कृष्ट नीजि विद्यालयको रुपमा आफूलाई स्थापित भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्