पूर्वी मोरङको भूमि समस्या समाधान गर्न सरकार गम्भिर छ : प्रधानमन्त्री ओली


 


काठमाडौं, मंसिर १७

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी मोरङसहित देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनु भएको छ । मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभयो । “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख, उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो । कार्यक्रममै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको जानकारी दिनुभयो । मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् ।

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्