झापामा बाल क्लबको पहलमा बाल विवाह रोकियो


 


झापा, मंसिर १७

झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ ।

सप्तरी जिल्लाको कञ्चनपुरबाट आज बिहान ९ बजे जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले विवाह हुने उमेर कानूनमै २० वर्ष पुग्नुपर्ने लेखिएको जनाउँदै बालविवाह गर्न नपाइने बताउनुभयो ।

बिहेका लागि सम्पूर्ण तयारी गरिएको थियो भने निम्तालु घरमा आइसकेका थिए । नेपालको संविधान र कानूनले बालविवाहलाई बालअधिकारको हनन मानेको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह गर्न नपाइने प्रष्ट उल्लेख छ भने हालै लागू भएको मुलुकी संहिताले २० वर्ष नपुगी महिलाको बिहे गरेमा बालविवाह ठहरिने उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्षेनी १३ हजार बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । परम्परागतरूपमा बालविवाह हुने गरे तापनि यसलाई कुप्रथा र बाल अधिकार हननका रुपमा लिइन्छ । रासस

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्