सङ्घीय संसद्को अधिवेशन बोलाउन काँग्रेसको माग


 


काठमाडौँ, मंसिर १७

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो ।

रासससँग कुरा गर्दै नेता खाँणले भन्नुभयो, “संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श गरेको छैन, संसद्को बैठक नचलेको लामो अवधि भइसक्यो, पुराना ३०० भन्दा बढी कानून संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्नेछ, त्यसैले जतिसक्यो चाँडो बैठक बोलाउनुपर्छ ।”

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अब जति सक्यो छिटो संसद्को अधिवेशन बोलाउनुको विकल्प रहे पनि विभिन्न कारणले पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइने छ ।”

संसद् सचिवालयले संसद् बैठक कक्ष र आवश्यक उपरिणको मर्म सुधार र सरकारले आगामी अधिवेशनमा पेश गर्नुपर्ने विधेयकको तयारीलाई तीव्रता दिने काम भइरहेको छ । रासस

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्