काँग्रेस केन्द्रिय कार्यसमितिको बैँठक आज बस्दै


 


काठमाण्डौँ, मंसिर १३

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । केन्द्रीय समितिको बैठक बस्नु अघि कांग्रेसका नेताहरू छलफलमा व्यस्त छन् ।

हिजो दिनभर नै गुटगत भेला भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा हिजो निवासमै निकट पदाधिकारी र केन्द्रीय सदस्यसँंग छलफलमा व्यस्त बने । त्यही बेला महामन्त्री शशांक कोइराला निवासमा पनि संस्थापनइतरको उस्तै छलफल चलिरहेको थियो ।

दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधनका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा आजदेखि हुने छलफलमा सामूहिक धारणा बनाउने । कांग्रेसमा गुटगत राजनीति हावी हुँदा अहिले आआफ्नै पक्षका भेला चल्दै छन् । दुवै बैठक विधानको प्रस्तावित मस्यौदामा नमिलेका विषयमाथि नै केन्द्रित भएका नेताहरूले बताएका छन् ।

दुवै पक्षबीच पदाधिकारी थप्ने–नथप्नेमा पनि रस्साकसी छ । पदाधिकारी संख्यामा दुवै पक्षका महाधिवेशन लक्षित रणनीति गाँसिएका छन् । त्यही रणनीति बनाउन गुटगत भेला भएका हुन् । प्रस्तावित मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ बाट बढाएर १ सय ३१ सदस्यीय बनाइँदा पनि पदाधिकारी नथपिएको विषयलाई संस्थापन इतरपक्षले मुद्दा बनाएको छ । केन्द्र र संघीय कार्यसमितिका सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने संस्थापनइतरको अर्काे अडान छ ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्