काँग्रेसका जिल्ला सभापतिको बैठक आजदेखी नुवाकोटमा


 


काठमाडौँ, मंसिर १२

नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा आजदेखी सुरु हुने भएको छ । काँग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन आज र भोली ककनीमा बैठक हुन लागेको हो ।

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काँग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिनुभयो । “ काँग्रेसको विधान संशोधन समितिमा रहनुभएका काँग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उहाँले भन्नुभयो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उहाँको भनाइ थियो । नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताउनुभयो ।

बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ । रासस

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्