जनतामा उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्री राईको निर्देशन


 


विराटनगर, मंसिर ६
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनुभएको हो ।

जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन जस्ता कुराहरु बाहिर आउन थालेका छन्, जनताको आशालाई मर्न दिनु हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयो, जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ ।

जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मुख्यमन्त्री राईले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न समेत निर्देशन दिनुभएको छ । प्रदेशमातहत संरचनाहरु आएका छन्, बनेका छन्, हामी काम गर्ने विन्दुमा प्रवेश गरेका छौं, मुख्यमन्त्री राईले भन्नुभयो, यो १५ दिनभित्रआवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् ।

यो आर्थिक वर्षको चार महिना सकिएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, अब बाँकी रहेको समय अलिकति पनि खेर नफालौं, कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्छ ।

प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उहाँले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउँने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले भन्न मिल्दैन् । कामगर्न के ले समस्या भएको छ, सचिवले विभागिय मन्त्रीलाई भन्नुपर्याे मन्त्रीले मलाई भन्नुपर्याे, मन्त्रिपरिषदबाट भएपनि काम गर्ने वातावरण बन्छ ।

कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिनुभएको हो । प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: ६ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्