सहयोगी दाताकै भरमा चलेको छ बालगृह


 


–सुमन घिमिरे
उर्लाबारी, मङ्सिर ५

मोरङको उर्लाबारी नगरपालिका – ७ मा अवस्थित नमुना बाल गृह सहयोगी दाताकै भरमा सञ्चालन भईरहेको छ । सो बाल गृह अहिले प्रदेश नं. १ कै उत्कृष्ट बाल गृहका रुपमा रहेको छ ।

बिसं २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय बृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर स्थापना भएको सो गृहमा हाल ४६ जना बालबालिकाहरु आश्रित रहेका छन् । समाजसेवाप्रति उत्साहित स्थानीय मिनादेवी बरालको सोच अनि स्थानीय मनकारी सहयोगकी दाताहरुको लगावका कारण नै सो बालगृह स्थापना भएको थियो ।

बाल गृहको स्थापनाका लागि उर्लाबारी–६ स्थित राधिका माविले चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । सो बाल गृहका लागि स्थानीय पूर्व मेजर हर्कबहादुर तामाङ, अनन्त बराल, शोभित निरौला, हेमराज न्यौपाने, कालिमाया श्रेष्ठ, खड्गकुमारी ढुंगानालगायतले १४ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । हाल एक विघा क्षेत्रफलमा बाल गृह रहेको छ । सो बाल गृह ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठा व्यवस्थित भान्सा घर, जस्ताको छानो लगाएको पक्की संरचनाकै गाईगोठ रहेको छ । भारतीय दूतावासले प्रदान गरेको एउटा एम्बुलेन्स सञ्चालन गरेको छ । बाल गृहका बालबालिकाहरु बिरामी पर्दा सो एम्बुलेन्समा अस्पताल लैजाने गरिन्छ ।

सुरवातमा बिसं २०५८ सालमा बालगृह सञ्चालक समितिले सप्ताह पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गरेपछी स्थानीय सहयोगी दाताहरुको आर्थिक सहयोगमा गृहको भवन निर्माण गरिएको थियो । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने ४६ जना बालबालिकाले बराललाई ‘आमा’ भनेर बोलाउने गर्छन् । बराल बिहानदेखी रातीसम्मै तिनै बालबालिकाको हेरचाहमा खटिनुभएको छ । बालबालिकाको हेरचाहमा लागेको १६ वर्ष नै बित्यो बरालले रासससँग कुरा गर्दै भन्नुभयो “मनकारी सहयोगी दाताकै भरमा हालसम्म बालगृह चलिरहेको छ ।” विसं २०२२ मा १० वर्षकै उमेरमा विवाह भएका बरालको आफ्नो सन्तान छैनन् । एक त सानै उमेरमा विवाह त्यसमाथि श्रीमान्ले अर्को श्रीमती थपेपछी बाध्य भएर बराल समाजसेवामा लाग्नुभएको हो ।

आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर अरु अनाथ बालबालिकाले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले उहाँको मनमा बालगृह स्थापना गर्ने सोच पलाएको थियो । गृहमा बिकट कर्णाली प्रदेशको दैलेखदेखी पूर्वका सुनसरी, मोरङ, झापा, लगायत जिल्लाका बालबालिकाहरु यहाँ आश्रित रहेका छन् । गृहमा अढाई वर्षका दावाछिरिङ शेर्पादेखी २२ वर्षका राम राउतसम्म बस्दै आएका छन् । पछिल्लो समय बालगृहमा जन्मदिन र चाडपर्व मनाउन आउनेको संख्या बढ्दै गएको छ भने केही मनकारी सहयोगकी दाताहरुले बालबालिकाको शिक्षाका निमित्त आर्थिक सहयोग पनि गर्दै आउनु भएको छ ।

बराल आफैँ बाल गृह संचालक समितिको अध्यक्ष समेत रहनु भएको छ । बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुने गरेको बालगृह सञ्चालन समितिका सचिव जिवन घिमिरे बताउनुहुन्छ । खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षा, लत्ताकपडालगायतमा मासिक रु एक लाख ५० हजार भन्दा बढी रकम खर्च हुन्छ सचिव घिमिरेले भन्नुभयो “सहयोगी दाता र ऋणपानकै भरमा बालगृह चलिरहेको छ ।” अध्यक्ष बरालले आफ्नो सबै सम्पत्ति बालगृहको नाममा हस्तान्तरण गरिसक्नु भएको छ । बरालले प्रदान गरेको र गृहको अक्षकोषमा रहेको रकमले नजिकै एक विघा ५ कट्ठा जग्गा खरिद गरिएको र सो जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ । गृहमा आश्रित बालबालिकाहरु केही नगरमै रहेका निजि बिद्यालयमा पढ्छन् भने केही सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् । उनीहरूमध्ये केहीको शुल्क विद्यालयहरुले छुट दिएका छन् भने केहीको बालगृहले नै व्यहोर्ने गरेको छ ।

गृहमा रहेको सदनमा एक जना सहयोगी शिक्षिकालाई मासिक रुपमा रु तीन हजार बाहेक अन्य सहयोग राज्यबाट प्राप्त नभएको सचिव घिमिरेले बताउनुभयो । स्थानीय स्तरमा र देशविदेशमा रहेका सहयोगी दाताहरुको भरमा चलिरहेको बाल गृहमा सरकारी सहयोग भने अझै पुग्न नसक्दा गृह संचालनमै समस्या भईरहेको अध्यक्ष बराल बताउनुहुन्छ । राज्यबाट सहयोग प्राप्त हुन नसकेपछी सो बालगृहको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि अहिले “एक रुपैयाँबाट एक करोड” भन्ने अभियान सञ्चालनमा ल्याइएको छ । उर्लाबारी नगरपालिकाले गत आर्थिक वर्षमा गृहको भौतिक संरचना निर्माणका लागि रु १ लाख ५० हजार सहयोग गरेपनि बालबालिकाको दैनिक जिवन चलाउनका निमित्त कुनै सहयोग नभएको अध्यक्ष बरालले गुनाशो गर्नुभयो । रासस

 

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्