विराटनगरमा पत्रकारको राष्ट्रिय सम्मेलन


 


विराटनगर, मंसिर ३

नेपाल पत्रकार महासंघ प्रदेश समितिको संयोजनामा विराटनगरमा पत्रकारहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस पहिलो साता सम्मेलन गर्न लागिएको पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले सोमबार विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा देशभरका जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रतिष्ठानका अध्यक्षहरूको सहभागितामा हुने प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश १ को संयोजनमा सम्मेलन हुनेछ । सम्मेलनमा पत्रकार महासंघको विभिन्न नीति र समन्वय साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल हुने बताइएको छ ।

लामो समयदेखि पत्रकार महासंघ प्रदेश पार्षदले आफ्नो भूमिका नभएको गुनासो गरेपछि फागुन महिनाभित्र प्रदेश पार्षद तथा पत्रकार महिलाको भेला गर्ने तयारी समेत महासंघले गरेको छ । त्यस्तै मंसिर महिना प्रदेश समितिको भवनको निर्माणका लागि शिलान्यास गर्ने घोषण महासंघले गरेको छ । महासंघ भवन बनाउनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ दिएको छ ।

महासंघको केहीदिन अघि बसेको बैठकले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक लागू गर्न सरोकारवालासँग समन्वय र छलफल गर्ने निर्णयसमेत गरेको छ ।
पत्रकार महासंघको प्रदेश समितिको बैठक केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्