राष्ट्रिय परिचयपत्र वितरण आजदेखी सुरु हुँदै


 


पाँचथर, मंसिर ३

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ आजदेखि सुरु हुने भएको छ । नेपालमै पहिलो पटक आज पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ ।

पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा आज पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्