आज हरि बोधिनी एकादशी पर्व मनाइँदै


 


काठमाडौँ, मंसिर ३

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्