उर्लाबारीमा श्रीमद् शिव महापुराण विराट ज्ञान महायज्ञ


 


उर्लाबारी, मंसिर २

उर्लाबारीलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने उद्देश्यले श्रीमद् शिव महापुराण विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ ।

सिद्देश्वर शिव बाबा धाम उर्लाबारीको आयोजनामा मंसिर १० गतेदेखि २० गतेसम्म सो महायज्ञ गर्ने तयारी भइरहेको हो । आज पत्रकार सम्मेलन गरी आयोजक मूल समितिले महायज्ञबाट संकलित रकमले मन्दिरहरुको नगरीका रुपमा परिचित उर्लाबारीलाई धामको रुपमा विकसित गराउने उद्देश्य रहेको छ ।

महायज्ञमा प्रखर धर्मगुरु ब्यासाचार्य किशोरकुमार गौतमबाट दैनिक दार्सनिक प्रवचन, सरस पुराण वाचक आचार्य छन्दुराम भण्डारीबाट कथा वाचन, पण्डित उमेश आचार्यबाट पाठपारायणका साथै चर्चित कलाकारहरुबाट सांगितिक प्रस्तुतीका साथैँ बेजोड झाँकी प्रदर्शन कार्यक्रम रहने आयोजक समितिका संयोजक जंगबहादुर कार्कीले जानकारी दिनुभयो । महायज्ञकै अवसरमा भोली सोमबार रक्तदान कार्यक्रम गरिने र मंगलबार मोटरसाइकल र्याली गर्ने उहाँको भनाई छ ।

स्थानीय समाजसेवी जंगबहादुर कार्कीको नेतृत्वमा १७ सदस्यीय पुराण आयोजक समिति गठन गरिएको थियो । शिव महापुराण धनधान्याञ्चल विराट ज्ञान महायज्ञमा करिब १ करोड रुपैयाँ संकलन गर्ने योजना रहेको र १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । २ करोड ७० लाख रुपैयाँको धामको गुरु योजना बनाइएको र सोही उद्देश्यलाई पूरा गर्न महायज्ञ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्