नेविसंघ विवाद आज टुङ्गो लाग्ने


 


काठमाडौँ, मङ्सिर २

नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आज टुङ्गो लगाउने निणर्य गरेको हो ।

“आज २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो ।

शनिवार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो । पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न २ बजे बस्नेछ ।  रासस

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्