पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन प्रदेश सरकार संवेदनशील


 


विराटनगर, कात्तिक ३०

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज विराटनगरमा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नुपर्छ भन्नुभयो ।

उहाँले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारिता क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेशसभाका सदस्य जयराम यादवले विकासमा जनसहभागिता बढाउन र दण्डहीनतालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले समृद्ध, आधुनिक र विकसित समाज निर्माण गर्न पत्रकारिता क्षेत्र इमान्दार बन्नुपर्छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश नं १ का प्रहरी प्रमुख केदार रिजाल, राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल प्रमुख मोहनदेव जोशी, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेललगायतले दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्