सिक्टी–पथरी –जाँते–मिक्लाजुङ सडक निर्माणका लागि पहल गरिने


 


मोरङ, कात्तिक २६

भारतसंगको व्यापारिक नाका तथा उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रसहितका अन्य पहाडी जिल्लाबासीको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिक्टी–पथरी –जाँते–मिक्लाजुङ सडक निर्माणका लागि स्थानीय ४ वटा पालिकाले संघ सरकारसँग माग अघि सारेका छन् ।

पथरीशनिश्चरे नगरपालिकामा आज बसेको पथरीशनिश्चरे, लेटाङ र सुनवर्षी नगरपालिका प्रमुखबीच भएको छलफलमा सो सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय भएको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले बताउनु भयो ।

मोरङ निर्वाचन क्षेत्र नम्वर २ को भारतसँगको सिमाना जोडिएको छोटी भन्सार समेत रहेको सुनवर्षीको सिक्टी नाकाहँुदै ३ नम्वरको पथरीशनिश्चरे, १ नम्वरको लेटाङको जाँते, मिक्लाजुङ्बाट धनकुटा, इलाम र पाँचथरको सिमामा पर्ने पूर्वको पर्यटकीयस्थल मिक्लाजुङ्सम्म सो सडकले जोड्दछ । बैठकमा पथरीशनिश्चरे प्रमुख राईका साथै उपप्रमुख यमुना विष्ट वास्तोला, लेटाङ नगर प्रमुख शंकर राई र सुनवर्षी प्रमुख कालिप्रसाद दासको उपस्थिती रहेको थियो ।

उपस्थित हुन नभ्याउनु भएका मिक्लाजुङ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले पनि मागप्रति ऐक्यवद्धता जनाउनु भयो । यसबेला सामान्य सडक भएपनि ७० फिट चौडाईको कालोपत्रे सडक निर्माण गरी पहाडी जिल्ला हुँदै चिनसम्मको र यता भारतसम्मको व्यापार प्रवद्र्धन गर्न सिक्टी नाका महत्वपूर्ण हुने सुनवर्षी नगर प्रमुख दासको भनाई छ । सुनवर्षी ८ सिक्टीस्थित हचन्द्रगढी भन्सार जीर्ण र सुस्त अवस्थामा सामान्य काम कारवाहीमा छ ।

भारतको सिमानादेखि मिक्लाजुङको तेर्साे बाटोबाट रवि, राँके हुँदै ताप्लेजुङबाट चिनसम्म जोड्न सहज पहुँच पुग्ने छोटो दुरीको दर्विलो बाटोका रुपमा सो सडक निर्माण गर्नु अति आवश्यक रहेको ठहर गर्दै स्थानीयवासीको मागका रुपमा मन्त्रालयमा डेलिगेशन जाने समेत निर्णय भएको छ ।

जाँतेसम्म ४१ र त्यसमाथि धनकुटाको चौविसे गाउँपालिको ६ नम्वर बुधबारेसम्म साढे १८ किलोमिटर गरी कुल साढे ६६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि प्रधानमन्त्री कार्यालय, भौतिक मन्त्रालय, राष्ट्रिय योजना आयोग र १ नम्वर प्रदेशको मुख्यमन्त्री कार्यालयमा वोधार्थ पठाइने लेटाङ नगर प्रमुख शंकर राईले जनाउनु भयो । सोही खण्डमा पर्ने पथरी –जाँते–ज्यामिरे सडकका लागि यो वर्ष प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्