घोरेटारका ली क्वान यू को बिदाई


 


हतुवा क्षेत्रको  सबैभन्दा ठूलो व्यापारिक केन्द्र घोरेटार पुग्ने जो कोहीका लागि दुई वटा ठाँउ चासोको विषय हुने गर्दछ । पहिलो सगरमाथा उच्च मावि र दोस्रो अटल सिंह काजीको गढी ।

गढीको ‌ऐतिहासिक महत्व भए पनि त्यहाँको स्वतन्त्र घुमफिर गर्ने र सौन्दर्यात्मक पक्ष अब बाँकी छैन । त्यसकारण गढी इतिहास प्रति रूचि भएका व्यक्तिहरूका लागि बढि चासोको विषय हुने गर्दछ ।

अधिकाँशले  चासो राख्ने र प्रत्यक्ष घुम्ने ठाँउ भनेको बजारसँगै जोडिएको सगरमाथा उच्च मावि नै हो । घुमी सके पछी जो कोही आगन्तुक स्कुलको प्रशंसा गर्न कञ्जुस्याईं गर्दैनन् ।

त्यहाँ पुगेका व्यक्तिहरुसँग विभिन्न ठाँउमा भेट हुँदा स्कुलको बखान गरेको सुन्न पाइन्छ । यो एउटा गौरवको विषय नै हो । त्यही उच्च माविका पूर्व प्रधानाध्यापक ईश्वरमान राईलाई असोज २५ गते ‌एक समारोह बीच स्कुलले बिदाइ गरेको छ ।

सबैका अगाडि देखाउन लायक सरकारी स्कुल निर्माण गर्न, घोरेटारलाई देख्न र चिनिन सक्ने बनाउन ईश्वरमान राईले ठूलो योगदान पुर्याउनु भएको छ । करिब साढे तीन दशक प्रधानाध्यापक रहनु भएका उहाँले लगभग शुन्य अवस्थाबाट शुरु गरेर  भौतिक रुपले सम्पन्न र त्यस क्षेत्र कै गुणस्तरीय शिक्षाको केन्द्रको रुपमा स्कुलको विकास गरेर केवल प्रधानाध्यापक मात्र होइन एक अब्बल प्रशासकका रूपमा आफुलाई स्थापित गर्नु भयो ।

स्थापना पछीको लामो समय हतुवा क्षेत्रको एक्लो माविको रुपमा सगरमाथा रहन पुग्यो । त्यस क्षेत्रका दक्ष, अर्ध दक्ष जनशक्ति अधिकांशले मावि तह त्यही पढेका छन् ।

arjun rai
अर्जुन राई

कुनै समय सगरमाथा उच्च माविमा पढ्ने विद्ध्यार्थीको सँख्या हजार भन्दा बढी थियो । भिमसेन जस्तै बलिया बाङ्गा बिद्ध्यार्थीहरू थिए । त्यस्ता विद्ध्यार्थीहरू बीच अनुशासन कायम राख्नु चानचुने काम थिएन ।

आज अधिकांश निजी स्कुलहरू अनुशासन कायम राख्न डिआई राख्ने गर्छन् । कम्तीमा त्यस्तो पदको सिर्जना सगरमाथा उच्च माविले गर्नु परेन ।

स्कुलसँगै भएका दुई ठूला खेल मैदान,  सुन्दर कम्पाउण्ड, वृहद् पुस्तकालय, पर्याप्त कक्षाकोठा सुन्दर फूलबारीले धेरैको मन तान्ने गर्दछ । खेल मैदान निर्माणको कहानी सुन्दा धेरैलाई किंवदन्ती झैं लाग्दछ ।

पुरै डाँडालाई सम्याएर मैदान बनाउन हजारौंले निःशुल्क पसिना बगाए । मानिसहरू भरोसायोग्य व्यक्तिसँग अर्थपुर्ण काम बिना पैसा पनि गर्दारहेछन् भन्ने यो एउटा उदाहरण हो ।

वरिपरिको घेराबारको लागि हजारौं विद्ध्यार्थीले घँघारू तानेका छन् । घरबाट बाँस बोकेका छन् । आन्तरिक व्यवस्थापनमा पुस्तकालय चलेको छ ।

यी सबैलाई रकममा रूपान्तरण गर्ने हो भने त्यस क्षेत्रका गाविसमा आउने वार्षिक बजेट भन्दा धेरै पुग्न सक्छ । कुनै सरकारी वा गैर सरकारी अनुदानको आशामा स्थानीय श्रोत साधन परिचालन नगरिएको भए धेरैको वाहवाही बटुल्ने यी कुराहरू निर्माण हुने नै थिएनन् ।

यो सबैको व्यवस्थापन गर्न सहज थिएन तर पनि उहाँले सम्भव तुल्याउनु भयो । यस भित्र लुकेको मूल्य हाम्रा लागि अनुकरणीय छन् । आज सार्वजनिक निकायको लागि श्रम गर्ने परिपाटी खिइँदै गएको छ ।

प्रशासकहरुमा सिजृनात्मक सोंच, चुनौती सामना गर्न सक्ने क्षमताको खडेरी छ । समुदायको सहभागिता कागजमा सिमित हुँदैछ । कुनै पनि विकास वा सामाजिक कार्य कै लागि अनुदानको अपेक्षा चुलिँदो छ ।

अनुदान नपाए नेता वा सरकारलाई गालिगलौज गर्न पछी नपर्ने परिपाटीको विकास भइरहेको छ । कतैबाट सहयोग उपलब्ध भएमा त्यसको सँचालन र व्यवस्थापनको पाटो ज्यादै फितलो छ ।

तर पनि जटिल राजनीतिक, सामाजिक अवस्था, पिछडिएको भनेर चिनिएको सामुदायिक पृष्ठभूमीका माझमा उहाँले आफ्नो योजनाहरुलाई मूर्त रुप दिनु भयो । आफ्नो सिजृनात्मक सोंचलाई कुशल ढङ्गले व्यवहारमा रूपान्तरण गर्न सफल हुनु भयो ।

न्यून श्रोतसाधनलाई लिएर अव्वल नतिजा दिन माहिर  उहाँले आफुलाई कुशल व्यवस्थापकको रूपमा समेत सावित गर्नु भयो । घोरेटार बजार अहिले भोजपुरको दक्षिणी क्षेत्रको व्यापारिक केन्द्रको रूपमा स्थापित भइसकेको छ ।

सर्वसाधारणलाई स्थानीय उत्पादनको बिक्री गरी आयआर्जन गर्न सहज भएको छ । आवश्यक उपभोग्य सामग्री किन्न टाढा जान परेको छैन । यसैका लागि कुनै समय सुनसरीको चतरा वा हिले बजार पुग्नु पर्ने बाध्यता थियो ।

अहिले कच्ची सडककै माध्यमबाट भएपनि अन्य बजारसँग जोडीएको छ । यो प्रसङ्ग यहाँ किन जोडियो भने आज भन्दा चार दशक अगाडि घोरेटारमा मावि नबनेको भए घोरेटारको रूप अहिले जस्तो बन्न सायद सम्भव थिएन ।

त्यो समयको सुनसान ठाँउ अहिले बजारमा रूपान्तरित भएको छ ।  शुरूवातकालको साक्षी खाद्य सँस्थानको गोदाम घर जीर्ण भएर बसेको छ । गाँउ गाँउबाट माविमा पढ्न आउनेहरुले गर्दा व्यापारिक कारोवारमा वृद्दि ल्यायो ।

व्यापारीहरुका लागि सम्भावनायुक्त गन्तव्य बन्यो घोरेटार । विद्ध्यार्थिहरुको माध्यमबाट हुने कारोवारका आधारमा बजारले गति लियो । यसरी हेर्दा घोरेटार बजार सगरमाथा उच्च माविको जगमा उभिएर अगाडि बढेको देखिन्छ ।

एउटा सुनसान ठाँउ बजारमा परिणत भए पछि आसपासका धेरैलाई जीवनयापनमा सहजता ल्याँउदोरहेछ । हाम्रा लागि यो विकासको यौटा पाटो हो । विकास ट्रिकल डाउन भएर अलिकति भए पनि तल गाँउ सम्म पुगेको अनुभव गर्न सकिन्छ ।

कुनै योजनाविद् वा विकास विज्ञका लागि हतुवा क्षेत्रमा भइरहेको परिवर्तन चासोको विषय नहुन सक्छ तर हतुवाका लागि भने यो आफैमा नमुना कार्य हो । यी सबै परिवर्तनमा उहाँको सँलग्नता हामी पाँउछौ ।

उहाँको करिष्म्याटिक नेतृत्वदायी भूमिकाका कारण सुन्दर सगरमाथा उच्च मावि र अहिलेको घोरेटार बजार बन्न पुग्यो । हतुवा क्षेत्रका आम मानिसमा ईश्वरमान राई प्रति गहिरो सम्मान भाव भएको हामी महशुस गर्न सक्छौं ।

उहाँले अहिले सम्म सेवा भावले धेरै काम गर्नु भयो अब दिने पालो समुदायको हो ।  स्वीकार्य उचित भूमिकाको सिर्जना गरेर सबैले सहयोग गर्नु नै समुदायको तर्फबाट उहाँ प्रतिको वास्तविक सम्मान हो ।

सेवानिवृत भए पनि योग्यता र दक्षताले निवृत होइन उहाँ । धेरै योग्य व्यक्तिहरु अवकास पछि सेकेण्ड करियरको खोजिमा आइएनजीओ, एनजीओ वा राजनीतिक नियुक्तिको लागि दौडिरहेको देख्न पाइन्छ ।

उहाँले पनि चाहनु भयो भने कुनै जागिर वा पद पाउन सायद कठिन नहोला । तर पनि समुदायका लागि अहिले सम्म निर्वाह गर्नु भएको भूमिकाका आधारमा अर्को जागिर शुरुवात गर्नु हुन्न भन्ने अनुमान गर्न सकिन्छ ।

व्यक्तिमा भएको क्षमतालाई चिनेर सदुपयोग गर्ने मामलामा हतुवावासी चुक्नु हुँदैन । विकासका हरेक पक्षमा पिछडिएको विकट हतुवाले अहिले विस्तारै गति लिइरहेको छ ।

हतुवाका गाँउघरमा त्यस क्षेत्रका कोही व्यक्ति असल रुपमा चर्चित र प्रशंसनीय छन् भने एकजना ईश्वरमान राई नै हुनुहुन्छ । अनुशासनप्रीय छवि, जिम्मेवारी वहन गर्न गरेको त्याग, इमान्दारीता, सरलता, दृढ इच्छाशक्ति, सृजनात्मक सोंच र चुनौतिपुर्ण कार्यको कुशल सम्पादनका कारण नै उहाँको व्यक्तित्व सबैका लागि स्वीकार्य बन्न पुग्यो ।

ईश्वरमान राईलाई घोरेटारका ली क्वान यू को उपमा दिंदा अतिशयोक्तिपूर्ण हुँदैन जसले लामो समय निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिकाबाट बिदा लिनु भएको छ ।

लेखक सगरमाथा उच्च माविका पूर्व विद्यार्थी हुन्

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्