धनुषामा तिहारमा रु ५० लाखको फूलमालाको कारोबार


 


धनुषा, कात्तिक २४

यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताउनुभयो ।

भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५ लाख बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।

पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र रु २५ लाख बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताउनुभयो । रासस

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्