विराटनगरमा पहिलो पटक रेल भित्रियो


 


मोरङ, कात्तिक १९

मोरङको विराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर बुधनगर सम्मको रेलमार्ग ट्रायलको परीक्षण सफल भएको हो ।

बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परीक्षण गरिएको थियो । रेल मार्गको परीक्षणसँगै बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको जोगबनी–विराटनगर रेलमार्ग परियोजना इर्कनका एजीएम अश्विनीकुमारले बताउनुभयो ।

नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दूरीमा परीक्षण सफल भएको छ । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म १३१०२ डब्लुडीजी ३ ए को इञ्जिन रोलिङ नेपाली र भारतीय झण्डा राखेर झण्डै एकघण्टामा आइपुगेको हो ।

नियमित रेल सञ्चालनमा यो दूरी जम्मा १५ मिनेटमा पार गरिसक्ने छ । रेलमार्ग परियोजना इर्कनले गरेको परीक्षणमा नेपाल र भारतका सरकारी अधिकारी नभएपनि विराटनगर–१८ का वडाध्यक्ष सन्जयकुमार साहले आफ्नै वडामा रेल आउँदा स्थानीयसहित नेपाली झण्डाले स्वागत गर्नुभएको थियो ।

भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले अहिलेसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ ।

भेडियारीसम्म रेलको नियमित सञ्चालनको लागि भने अझै ४५ दिने लाग्ने निर्माण कम्पनीले जनाएको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग बिस्तार गर्ने समझदारी भएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्