कांग्रेस महासमिति बैठक सर्दै


 


काठमाडौँ, कात्तिक १८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर पहिलो साताका लागि तय गरेको महासमिति बैठक पछि धकेलिने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै कांग्रेसले महासमिति बैठक कम्तीमा मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले विधान संशोधनको विषय नटुंगिएको भन्दै दुई सातासम्म बैठक सार्न अनौपचारिक संवाद थालेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आफूनिकट नेताहरूसँग मंसिरभित्र नयाँ मिति तोक्ने गरी बैठक सार्नेबारे छलफल गरेको नेताहरूले बताएका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार प्राविधिक कारणले महासमितिको बैठक एक–दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको हो ।

महासमिति बैठक मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । सभापति देउवाले महासमिति बैठकको नयाँ तिथि तोक्नका लागि १९ या २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् ।

महासमिति बैठकमा पेस गर्ने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्छ । तर शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त हुँदा न प्रस्तावका विषयमा छलफल भएको छ न त केन्द्रीय समितिको मिति तय हुन सकेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्