झापाको दक्षिणी सीमावर्ती क्षेत्र असुरक्षित बन्दै


 


झापा, कात्तिक १७

झापा जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा लगातार अपराधका घटना हुन थालेका छन् । जसका कारण यो क्षेत्र असुरक्षित बन्दै गएको छ ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा लगातार भएका अपराधका घटनाले यहाँको सुरक्षा अवस्था पनि कमजोर रहेको पाइएको छ ।

पछिल्लो २ महिनामा यहाँ दुई जनाको हत्या भएको छ भने एक बलात्कारको घटना पनि सार्वजनिक गरेको छ । अघिल्लो महिना मात्र एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको सीमावर्ती क्षेत्रको भारततर्फ नेपाली व्यक्तिको हत्या गरी पुरेको अवस्थामा फेरि अर्का एकको हत्या भएको छ । २ महिना बीचमा पश्चिम झापाको सिमावर्ती क्षेत्रमा दुई जनाको हत्या हुनुले पनि अपराधको श्रृंखला बढेको पाइएको हो ।

यसै क्रममा झापाको गौरीगञ्ज गाउँपालिका २ कोराबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव भारतीय क्षेत्रमा फेला परेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले भारतको किसनगंज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

गौरीगंज गाउँपालिकामा नैं गत भदौमा पनि दमकका एक व्यवसायीको हत्या भएको थियो । झापाको कमल गाउँपालिका ६ घर भई दमकमा व्यवसाय गर्ने खेमराज पौडेलको हत्या भएको थियो । लगातार रूपमा बढेका अपराधका घट्नाले स्थानीयमा त्रास फैलिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्