उर्लाबारीमा दुई धिमाल संगठनबीच भयो एकता


 


उर्लाबारी, कात्तिक १६

तत्कालिन नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक धिमाल संघ र नेकपा (माओबादी) निकट धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालबीच आज एकता भएको छ ।

उर्लाबारी नगरपालिका – ३ स्थित धिमाल जातीय विकास केन्द्रमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश नं. १ का इन्चार्ज भीम आचार्यको प्रमुख आतिथ्यतामा भएको एकता भेलाबाट पर्तमान धिमालको अध्यक्षतामा ५१ सदस्यीय नेपाल गणतान्त्रिक धिमाल संघ गठन गरिएको छ ।

पूर्व सांसद समेत रहनुभएका पर्तमान पूर्व नेकपा (एमाले) निकट हुनुहुन्छ । संघको सह–अध्यक्षमा गणेशमान धिमाल, उपाध्यक्षद्वयमा जीवनकुमार धिमाल र रत्नबहादुर धिमाल, महासचिबमा तारिलाल धिमाल, सचिबमा अम्बरबहादुर धिमाल र कोषाध्यक्षमा टेकमाया धिमाल रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा कविराज धिमाल, कमार धिमाल, शान्तिमाया धिमाल,भुवन कुमार धिमाल लगायत रहनुभएको छ । प्रदेश नं. १ को झापा र मोरङमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदाय अधिकांश कम्यूनिष्ट पार्टीमा आबद्ध रहेका छन् ।

पार्टीका प्रदेश इन्चार्ज आचार्यले पार्टी एकता सबै तहमा अघि बढिसकेको बताउनुभयो । नेता आचार्यले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी रहेको बताउनुभएको थियो । अब सबै जिल्ला, क्षेत्र र स्थानीय तहमा पनि एकता पक्रिया तिब्र रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।

त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जातजातिको सम्मान र संरक्षण गर्न यस प्रदेशमा बृहत जातीय संग्रहालय स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभयो । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश नं. १ का सह इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडालगायतले केन्द्रदेखी वडासम्मै पार्टीलाई मजबुत बनाएर जनताको चाहनालाई पुरा गर्न लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्