मोरङ काँग्रेसको चियापानमा क-कसले के -के भने ?


 


विराटनगर, कात्तिक १६

राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको बिराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।
मोरङ काँग्रेसले पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिएका छ्न ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रुपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताउनुभयो । नेता कोइरालाले सुशसानका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मोरङ त राजनीतिक रुपमा अझ उर्जाशील भएपनि विगत केहीयता भने यो क्रममा कमी आएको जस्तो महशुस सुनाउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्स पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिदैैं भन्नुभयो,‘प्रतिबन्धित कालमा निरंशुताविरुद्ध जनताका भावना मुखरित गर्नका लागि चियापान आरम्भ गरिएको थियो । त्यो संस्सकार अहिले पनि निरन्तर चल्नु सकारात्मक हो ।’ ढकालले सँगै राजनीतिक आन्दोलन गरेका दल देश विकासका लागि पनि सँगै अग्रसर हुनुपर्ने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । नेकपाका नेता गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । रतुवामाई नगरपालिकाका मेयर रविन राईले सबै पर्वले आपसमा भाइचारा बढाएको चर्चा गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पर्वहरु उत्सवसमेत भएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका प्रदेश सांसद शिवनारायण गन्गाई, पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले काँग्रेसले विगतदेखिकै परम्परालाई निरन्तरता दिन चियापान आयोजना गरी विचारको आदान प्रदान गरेको बताउनुभयो ।

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्