उपचारका लागि मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान


 


विराटनगर, कात्तिक १६

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि आज दिउँसो नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

दिउँसो २ बजे मुख्यमन्त्री राई काठमाण्डौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललबाट थाइल्याण्ड प्रस्थान गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । उहाँले प्रेस नोट जारी गर्दै दुई वर्षदेखि घाँटीको उपचार गराउँदै आउनुभएका राईको रोग पत्ता नलागेका कारण थप उपचारका लागि विदेश जानुपरेको बताउनुभएको छ ।

दुई वर्ष देखि घाँटिको समस्स्याबाट पीडित मुख्यमन्त्री राईको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटी लगायतका अस्पतालमा उपचार भएपनि रोग पत्ता लाग्न सकेको छैन । कात्तिक ११ गते प्रदेश १ को मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री राईलाई उपचार गर्न विदेश जाने स्वीकृत प्रदान गरेको थियो ।

उहाँको थाइल्याण्डस्थित बुम्रुनग्राण्ड इन्टरनेशनल अस्पतालमा उपचार हुनेछ । मुख्यमन्त्रीको सचिवालयका अनुसार उहाँको सम्पुर्ण उपचार निजि खर्चमा हुनेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्