संस्थाको पहलमा वृद्धालाई घर हस्तान्तरण


 


दमक, कात्तिक १५

परिवर्तनका लागि युवा नामक संस्थाले पुनःनिर्माण गरेको एक घर दमक–१० की एक बृद्धालाई हस्तान्तरण गरेको छ । आफ्नै घरमा पुनःस्थापना हुनपाएपछि वृद्धा बसन्ता रिजाल हर्षित हुनुभएको छ ।

स्थानीय सेतुमारी निवासी रिजाल आफ्ना दुई नातिनीका साथ जीर्ण घरमा बस्दै आउनुभएकामा घरलाई सो संस्थाको पहलमा पुनःनिर्माण गरी बुधबार आयोजित कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले घरको साँचो वृद्धालाई हस्तान्तरण गर्नुभएको हो ।

पचहत्तर वर्षीया रिजालको दैनिकी दिनदिनै कष्टकर बन्दै गएकाले उक्त संस्थाले स्रोत जुटाएर घर पुनःनिर्माण गरेको थियो । छोरा छ महीनाको हँुदा विसं २०२५ मा श्रीमान् गुमाउनुभएकी रिजालको सोही छोराको पनि विसं २०६२ मा भारतको गुजरातमा रोजगारीको सिलसिलामा मृत्यु भएको थियो ।

छोराको मृत्युपछि बुहारीले दोस्रो बिवाह गरेपछि दुई नातिनीको सहारामा उहाँ बस्दै आउनुभएको छ । संस्थाको पहलमा दाताको करीब रु दुई लाखको लागतमा घर पुनःनिर्माण गरी हस्तान्तरण गरिएको घर निर्माण अनुगमन समितिका सदस्य बिष्णु भट्टराईले बताउनुभयो । रासस

प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्