अति गरीबलाई अब सामाजिक सुरक्षा भत्ता


 


काठमाडौँ, कात्तिक १२

भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका लागि प्रस्ताव गरेको छ । उक्त मन्त्रालयले सिराहा, रौतहट, बागलुङ, मुगु, बाजुरा र कैलालीका अति गरीब घरपरिवारलाई परिचयपत्रका आधारमा भत्ता उपलब्ध गराउन आन्तरिक रुपमा छलफल तथा त्यसको व्यवस्थापनका लागि गृहकार्य शुरु गरिसकेको छ ।

गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या, घर, सुविधा, सम्पत्ति, जातजाति, भौगोलिक क्षेत्रलगायतलाई आधार मानेर विभिन्न २६ जिल्लामा करीब दुई वर्षअगाडि गरिएको सर्भेक्षणबाट ती छ जिल्लामा पाइएका अति गरीब घरपरिवारलाई भत्ता दिन छनौट गरिएको हो ।

प्रस्तावित गरिएका वार्षिक रकम तोकिएका गरीबलाई वितरण गर्दा सरकारको दायित्व वार्षिक दायित्व रु १७ करोड ४६ लाख नौ हजार ६०० हुन आउँछ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अर्थ मन्त्रालयको राय लिने र सरोकार पक्षलाई विश्वस्त पार्न सकेमा चालू आवभित्र भत्ता उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।

सरकारले गरीब पहिचान गरेका जिल्लामा खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली थिए । रासस

प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्