विकाश निर्माणमा एकजुट भएर लाग्नुपर्नेमा जोड


 


सरोज बस्नेत

उर्लाबारी ,कात्तिक ८

सिंहदरवारका अधिकार गाउँ गाउँमा आएपनि जनताले अनुभूति गर्ने गरी काम हुन नसकेको भन्दै आज उर्लाबारीमा आयोजित एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङ क्षेत्र नं. १ को आयोजनामा भएको जनप्रतिनिधिहरुसँगको छलफलमा सो चिन्ता ब्यक्त भएको हो । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाले जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गर्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा लाग्नु पर्नेमा जोड दिनुभयो । सुखी जनता र समृद्ध नेपाल निर्माण गर्ने संकल्पको साथ अघि बढिरहेको र त्यसमा सबैको साथ र सहयोगको खाँचो रहेको सांसद खतिवडाले बताउनुभयो ।

क्षेत्रको विकास निर्माण, भूमिहीन, सुकम्बासी, लालपुर्जाको समस्या, नदी नियन्त्रणलगायत बिषयमा आफू चिन्तित रहेको र प्रतिनिधिसभामा त्यसलाई समाधान गर्ने सवालमा जोडदार रुपमा आवाज उठाइरहेको उहाँले बताउनुभयो । सांसद विकास कोषबाट आएको रकमको सही सदुपयोग गर्न सकेको खण्डमा लक्षित समुदायको उत्थानमा सहयोग पुग्ने उहाँको भनाई छ ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बु (कुशल)ले लोकतन्त्र जनतालाई होइन जनप्रतिनिधिलाई पो आएजस्तो आफूले अनुभूति भएको बताउनुभयो । जनताले निर्वाचित गराएका जनप्रतिनिधिहरुले जनतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उहाँले उल्लेख गर्नुभयो । अबको एजेन्डा भनेको मुलुकको विकास र आर्थिक समृद्धि भएकाले सोहीअनुसार स्थानीय तहले जनताको जीवनस्तर उकास्ने तथा रोजगारमूलक योजनाहरू बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी भण्डारी, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, उर्लाबारी र मिक्लाजुङका वडाध्यक्षहरु, नेकपाका जिल्ला नेता रुपेश खतिवडा, भूपाल जिमी, मानबहादुर श्रेष्ठलगायतका अग्रज कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी एकता प्रक्रियासँगै स्थानीय तहमा समिति नबनेका कारण काम गर्न असहज भएको बताउँदै पार्टीलाई चलयमान बनाउनका लागि संगठन विस्तार गर्नु पर्नेमा जोड दिएका छन् । जनताले ठूलो विश्वासका साथ वामपन्थीहरुलाई नेतृत्वमा पुर्याएको भन्दै सोही जनादेशका आधारमा अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्