किस गरेको भिडियो पठाएर एक करोड माग


 


काठमाडौं, कात्तिक ८

सुन्दर युवती प्रयोग गरी अश्लील हर्कत गराउने र त्यसको भिडियो बनाएर धम्क्याउँदै रकम असुलीको धन्दा चलाउन लागि परेका एक जोडीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

कुपन्डोल क्षेत्रमा बस्ने एक जना व्यावसायीलाई निशा अधिकारीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्व्वेस्ट पठाएर सम्बन्ध विस्तार गरी मोहजालमा पारी भिडियो खिचि बार्गेनिङ गर्ने पाँचथर हिलिहाङ गाउँकी स्थायी बासिन्दा इन्दिरा उप्रेती र उनलाई प्रयोग गर्ने गोरखाका बद्रीनाथ लामिछानेलाई महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले यसलाई एक्टर्सन क्राइम भनेको छ । यो महिला प्रयोग गरी लिइने आपराधिक लाभमा पर्छ । गएको ३ असारमा ति व्यावसायीलाई फेसबुकमा नम्बर लिएर उप्रेतीले कार्यालयमा भेटी असली नाम इन्दु भनी बताएकी थिइन् । ‘सोफामा मोबाइलमा भिडियो खिचेर व्यावसायीलाई चुम्बन गर्ने, अश्लील हर्कत गरेर रेकर्ड गर्ने काम भएको रहेछ’, प्रहरीले भन्यो,‘पछि केटाले फोनगरी धम्क्याउने र एक करोड नदिए फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको फेला पर्यो ।’

लामिछानेले धम्क्याउने क्रममा आफ्नो नाम गणेश लामा बताएको अनुसन्धानका क्रममा खुलेको छ । लामिछानेलाई मंगलबार साँझ गौशालाबाट र उप्रेतीलाई बुधबार टेकुबाट पक्राउ गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्