झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी


 


झापा, कात्तिक ८

अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले बुधबार यहाँ आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरू र निराकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतामा हस्ताक्षर गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका हुन् ।

१२ बुँदे घोषणापत्रमा विद्यमान कानून कार्यान्वयन कडाइका साथ लागू गर्ने, मदिरा बिक्री केन्द्रको सङ्ख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय राति १० बजेसम्मलाई संशोधन गर्न पहल गर्ने भनिएको छ । प्रतिबद्धताअनुसार अब मदिरा साँझ ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने छ । त्यस्तै तोकिएको उमेरका व्यक्तिलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्वारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको समेत परिचय अनिवार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ । रासस

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्