गुगल ब्वाई आदित्यको रोग पत्ता लागेन
तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ । अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।
आदित्यले विगतमा गरेका ठूला दुई भविष्यवाणि सत्य सावित भएका छन् । एक वर्षअघि उनले सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए । यसैगरी २०७२ सालभित्र नेपालमा नयाँ संविधान आउँछ भनेर गरेको भविष्यवाणी पनि सफल भएको छ ।
प्रकाशित मिति: २६ आश्विन २०७२, मंगलबार