कर बढाएको भन्दै काँग्रेसको बिरोध


 


झापा, असोज २१

झापाको शिवसताक्षी नगरपालिकाले अत्यधिक कर बढाएको भन्दै नेपाली कांग्रेसले आज नगर प्रमुखलगायत कार्यपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कांग्रेसले पहिलो पटक झण्डा लिएर आन्दोलन गर्दै नगरपालिका कार्यालयमा पुगेको होे । कांग्रेसका सयौँ कार्यकर्ता कर विरोधी नारा जुलुस गर्दै ज्ञापनपत्र लिएर नगरपालिका पुगेका थिए ।

नगरपालिकाले असुली गरेको कर वैज्ञानिक र व्यवहारिक नभएको कांग्रेसका शिवसताक्षी नगर सभापति पर्शुराम ढुंगानाले बताउनुभयो । प्रतिपक्षीको धारणालाई गुमनाम राखेर लागु गरिएको कर सर्वसाधरणले बाध्य भएर तिर्दै आएको उहाँले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउनुअघि नगरपालिका परिसरमा आयोजित कोणसभामा काग्रेसका नेता चन्द्रमणि नेपाल, भक्तिप्रसाद सिटौला र शिवकुमार याङ्याले नेपालको संविधानले लोकतान्त्रिक संघीय प्रणालीसहितको संघीय, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको भएपनि शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधी ५ वर्षमा कसरी कमाउने भन्ने हिसाबबाट अघि वढेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्