नेकपाभित्रको विवाद सुल्झाउन प्रचण्ड सक्रिय


 


काठमाडौं, असोज १६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद समाधानको प्रयासका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्रिय हुनुभएको छ।

पार्टीको सांगठनिक एकता र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाभित्र विवाद चुलिएको छ । आन्तरिक विवाद मिलाउन पार्टीका प्रभावशाली नेताहरु सक्रिय भएका छन् ।

दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलापछि सतहमै देखिएको विवाद मिलाउने प्रयास सुरु भएको छ ।

नेतृत्वले एकलौटी ढंगले प्रदेश संयोजक र पदाधिकारी नियुक्त गरेको भन्दै वरिष्ठ नेता नेपालसहितका प्रभावशाली नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

आन्तरिक विवाद चुलिएपछि अध्यक्ष प्रचण्डले आइतबार सिंगापुरबाटै वरिष्ठ नेता नेपालसँग टेलिफोन वार्ता गर्नुभएको थियो । अध्यक्ष दाहालसँगको टेलिफोन वार्तामा पनि नेता नेपालले नेतृत्वले विधि र प्रक्रिया मिचेर प्रदेश कमिटी गठनको निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष दाहालले पछिल्ला असमझदारी र असहमति स्थायी कमिटी बैठकबाटै समाधान गर्नसकिने आश्वासन दिनुभएको थियो । पत्नी सीताको उपचार गर्न सिंगापुर जानुभएका अध्यक्ष प्रचण्ड सोमबार राती स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट सुरु भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्