इलाममा फस्टाउँदै चिया पर्यटन


 


इलाम, असोज १२

चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।

चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे ९घरबास० र होटल खुल्नेक्रम बढेको छ । नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार, फिक्कल र साँखेजुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् ।

सूर्योदय नगरपालिका–७ कन्याम चिया बगानमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भ्रमण गर्न आउने गरेको तथ्याङ्क छ । चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै यहाँको मौसममा रमाउनका बाह्रैमास पर्यटक आउने गरेको प्रदेश सांसद काजीमान कागते बताउनुहुन्छ ।

गाउँमा चियाखेतीको अवस्था, किसानको जीवनशैली, घरेलु चिया उत्पादन गर्ने तरिका, चियाबारीभित्रको रमणीय दृश्यका साथै स्थानीयवासीले उत्पादन गरेको हातेचियाको स्वादमा रमाउन पर्यटक आउने गरेका छन् । उनीहरुले चिया पर्यटनको व्यवस्थित विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएका छन् । कन्याम चिया बगान घुम्न आउनुभएका दयाराम दाहाल चिया पर्यटन विकासका लागि सरकारी निकायको लगानी आवश्यक भएको बताउनुहुन्छ ।

चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटनको प्रवद्र्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने पर्यटन व्यवसायी बिनु खड्काले बताउनुभयो । चिया बगानको अवलोकनसँगै साइक्लिङ र लामो पदयात्राको प्रशस्त सम्भावना रहेकाले कन्याम र इलाम सदरमुकामको ऐतिहासिक चिया बगान पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको खड्का बताउनुहुन्छ । चिया बगानमा असोज पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म पर्यटकको भीड लाग्छ । रासस

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्