बलात्कारका घटना बढेपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा


 


भोजपुर, ११ असोज

जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।
बलात्कारका घटना बढ्न थापेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक केशव थेवेले बताउनुभयो ।

प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ ।

राईले असोज ६ गते बालिकालाई करणी गरेको प्रहरीको भनाइ छ । त्यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका–१ डाँडा वोखिमका २५ वर्षीय मदन राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–६ माटोखानी टोलबाट एक ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा स्थानीय २५ वर्षीय छत्रमान राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते करणी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्