प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम ! प्रतिपक्षको असहमति


 


धनगढी, असोज ९
प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित संसदीय विशेष समितिले आज प्रदेशसभामा प्रतिवेदन प्रस्तुत गर्दै टेबुल गरेको छ ।

समितिले टेबुल गरेको प्रतिवेदनअनुसार प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ तेघरीमा तोकिएको छ भने नाम साविककै नाम सुदूरपश्चिम राखिएको छ ।

समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन पेश गर्दै प्रदेशबाट संघीय र प्रदेशसभामा प्रदेश गर्ने जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, सरोकारवालालगायतको सुझावका आधारमा समितिबाट सर्वसम्मत निर्णण गरिएको बताउनुभयो ।

प्रदेश नाम र राजधानी निर्धारण गर्न साउन १४ गते गठित समितिले गत भदौ ५ गते सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । समितिले सभामा टेबुल गरेको प्रतिवेदनमाथि भोलिदेखि छलफल हुनेछ ।

अर्को बैठक भोलि दिउसो १ बजेका लागि तोकिएको छ । समितिले दिएको सुझावमा सहमति हुन नसके बहुमतका आधारमा प्रदेशको नाम र राजधानी टुंग्याइने छ ।

समितिले ल्याएको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने असहमति जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विशेष समितिले मापदण्ड विपरित गोदावरीमा राजधानी तोकिएको बताउनुभयो । ‘प्रतिवेदनमा वातावरणीय रुपमा असर नपर्ने गरि राजधानी तोक्न भनिएको छ । तर, जंगलमै लिएर राजधानी राखिएको छ, यो सरासर मापदण्ड विपरित छ ।’ उहाँले भन्नुभयो ।

उहाँले अहिले अर्ब रुपैयाँ खर्च गरेर धनगढीमै संरचना बनिसकेको अवस्थामा गोदावरीमा राजधानी तोक्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले धनगढीबाट सार्नै परे संरचना तयारी अवस्थामै रहेको दिपायलमै ठीक हुने धारणा राख्नुभयो ।

यस्तै, दिपालयमा राजधानी हुनुपर्छ भन्दै लविङ गर्दै आउनुभएका कांग्रसकै सांसद भरत खड्काले दिपायलमा राजधानी हुन नसक्ने कुनै आधार नै प्रस्तुत नगरी गोदावरीमा लिएर राजधानी तोकिएको भन्दै विरोध जनाउनुभयो ।

समितिले दिपायलसम्म नपुगेर हचुवाको भरमा छोटो समयमा प्रदेशको नाम र राजधानी टुंग्याउने प्रक्रिया नै गलत भएको बताउनुभयो ।

प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्